| बुधबार, कार्तिक २७, २०७६

गोरखै रमाइलो ……….

गणेश श्रेष्ठ :

करिब एघार बर्ष अघि तिरको एक हिउँदको दिउँसो, हामी त्यतिबेलाका केही सहकर्मीहरु रेडियो गोरखाको पुरानो कार्यालय भवनको चौरमा बसिरहेका थियौं । जसमा म सहित गीत संगीतमा रुचि राख्ने केशव बस्नेत र मित्र देवकोटा थियौं । गफैगफमा साथीहरुले गोरखाको पर्यटन विकास सम्बन्धी प्रसङग निकाल्नुभयो र गोरखालाई चिनाउने गरी गीत लेखेको बताउनुभयो । हामी अन्य साथीहरुको आग्रहमा उहाँहरुले लय सहित गीत सुनाउनुभयो । गोरखाको चिनारी बोकेका शब्दहरु जसलाई तत्काल रेकर्ड गराउने योजना बनाइयो ।

हामी तीन भाइले दामासाहीले रेकर्डिङ, वाद्यवादन सहितको खर्च ब्यहोर्ने गरी काठमाण्डौं गएर हाम्रै आवाजमा दुईवटा गीत रेकर्ड पनि गरायौं । गोरखाका केही सार्वजनिक कार्यक्रमहरुमा गीत बज्न पनि थाल्यो “आउनुस् गोरखा घुम्नलाई, प्राकृतिक ऐतिहासिक मजा चुम्नलाई……..” र “माया गोरखाको………….” । हामीले गोरखाको चिनारीका लागि केही योगदान गर्न सकेकोमा खुशी नहुने कुरै भएन । तर गीत रेकर्ड गराएको झण्डै एक दशक पछि अहिले आएर हेर्दा पनि गोरखा र विशेष गरी सदरमुकाम क्षेत्रको ऐतिहासिक स्थलको अवस्था जस्ताको त्यस्तै छ । बर्षेनि आन्तरिक र बाह्य गरी हजारौं पर्यटक सदरमुकाम क्षेत्रको भ्रमणमा आउँछन्, तर उनीहरुले गोरखाबारे के धारणा बनाएर फर्कन्छन् ? इतिहासका किताबमा निकै चर्चा गरिएको गोरखाका ऐतिहासिक स्थलको प्रवद्र्धन हामीले कसरी गरिरहेका छौं त ? गोरखा घुम्न आउने शैक्षिक भ्रमणका विद्यार्थी होस् वा अरु आन्तरिक र बाह्य पर्यटक, उनीहरु गोरखा दरबार उक्लिन्छन्, यसो सुस्ताउँछन् अनि केही फोटो खिचेर फर्कन्छन् त्यो पनि भूकम्प पछि निर्माणको क्रममा अड्किएर बसेको संरचनाको फोटोहरु । त्यति लामो इतिहास बोकेको गोरखा दरवारबारे दुईटा चाखलाग्दा कुरा बताइदिने मान्छे खै ? नेपाल एकीकरणका अभियन्ता पृथ्विनारायण शाह जन्मेको दरबार यही हो भनेर कसले बताइदिने ? देशका सबैजसो मन्दिरमा बसेका गणेशको मूर्ति छ, तर गोरखा दरबार मुन्तिर उभिएका गणेशको मूर्ति छ भन्न सके त्यस सम्बन्धी चासो राख्नेलाई एकछिन भुल्ने मौका त हुन्थ्यो होला नि ।

गोरखा दरबार भन्दा माथिको उपल्लोकोट त यहाँ आउनेमध्ये नगण्य पर्यटक मात्र पुग्छन् होला । त्यसैले गोरखाको पर्यटनबारे कुरा गर्दा गोरखा बजारको पर्यटन र बजारको पर्यटनको कुरा गर्दा ऐतिहासिक पर्यटनको कुरा नगरी हुँदै हुँदैन । ऐतिहासिक पर्यटनको कुरा गर्दा हामीले पुराना स्थानीयका चाखलाग्दा कुरा मात्रै सुनेर रमाउने कि, त्यो इतिहासलाई जीवन्तता दिने प्रयास गर्ने ?

मान्छेहरु गोरखा घुम्न आउँदा मनमा जुन खालको चित्र बनाएर आउँछन् त्यो कल्पनाको चित्रमा गोरखा बजार छिर्नासाथ खुकुरी भिरेर आक्रामक मुद्रामा उभिएको एउटा पुरानो जमानाको सिपाहीको अर्धकदकै भएपनि मूर्ति सजिएको हुन्छ होला, त्यहाँ भन्दामाथि गएपछि माझि औंलो ठाढो पारेर उभिएका पृथ्विनारायण शाहको भीमकाय शालिक हुन्छ होला र त्यसको वरपर कोही बसेका र कोही उभिएका कालु पाण्डेहरु पनि हुन्छन् होला । अझ श्रवण मुकारुङ्गको बिसे नगर्चीको बयान पढेका साहित्यिक व्यक्तिहरुले लडाकुको त्यही भीडको एक ठाउँमा झुत्रेझाम्रे देखिने बिसे नगर्चीको शालिक पनि कल्पना गर्दा हुन् । तर खै के छ हामीसँग ? त्यसैले गोरखा बजारमा हामीले देखाउने र बेच्ने भनेको इतिहास हो, पुराना इट्टाले बनेका ठूल्ठूला भवन त नुवाकोट, काठमाण्डौं, ललितपुर, भक्तपुर, मकवानपुर, पाल्पा जताततै छन् । के तिनले चाहेर पनि पृथ्वीनारायण शाह यहीं जन्मेका हुन् भन्न सक्छन् र ? तर हामी निरन्तर त्यही इतिहासको रटान लगाइरहेका छौं, भोलि रटान लगाउनेहरुसँगै ती इतिहास पनि माटो हुनेछन् ।

त्यसैले बजारको फुटपाथ समेत मिचेर ठूल्ठूला होटल तथा अन्य संरचना मात्र बनाएर गोरखाको पर्यटन विकास हुन्छ भन्ने भ्रममा नपरी त्यो भन्दा पहिले हामीले गोरखालाई पर्यटकको कल्पनाको गोरखा जस्तै बनाउनु पर्छ । शुरुमा सदरमुकाम र पृथ्वीनारायण शाहको जन्मस्थलोको प्रबद्र्धन गर्दै अन्य क्षेत्रलाई पनि क्रमशः समेट्दै लगी समग्र गोरखाको पर्यटनलाई प्रबद्र्धन गर्न सकिनेमा हामी विश्वस्त हुन सक्छौं ।
सदरमुकामकै कुरा गर्नुपर्दा सबैभन्दा पहिले गोरखा बजारको सडक सफा, ब्यवस्थित र अलि फराकिलो होस् र बजारको एक ठाउँमा ब्यवस्थित बसपार्क होस् । ऐतिहासिक स्थानहरुको संरक्षणमा सबैको चासो पुगोस् । बसपार्कको आसपास माथि भनेजस्तै कम्मरमा खुकुरी भिरेर उभिएको प्रतीकात्मक गोरखालीको शालिक होस्, शालिक आसपास सानो पार्क वा फूलबारी होस् । पार्क घुमिसकेपछि उनीहरु पर्यटन सूचना केन्द्रमा जाऊन्, त्यहाँ गोरखाका अन्य पर्यटकीय गन्तब्यको जानकारी दिइयोस् ता कि उनीहरुको अर्को गोरखा यात्राको गन्तब्य त्यो ठाउँ बनोस् । यसरी जानकारी दिन एउटा हलको व्यवस्था गरेर गोरखाको जानकारी समेटिएको बृत्तचित्र र गोरखाको प्रवद्र्धनात्मक गीतको भिडियो प्रदर्शन गर्ने ब्यवस्था होस् । गोरखाको हालको मुख्य गन्तब्य गोरखा संग्रहालय, जुन बिहान ७ वजेदेखि बेलुका ७ वजे (मौसम अनुसार फरक हुन सक्छ) सम्म हप्ताको सातैदिन खुलोस् । संग्रहालयका सबै कक्ष घुमाइदिने गाइडहरु होऊन् । संग्रहालय रहेको पार्कमा बिश्रामका लागि थप संरचनाहरु होऊन् । आसपास सामान्य खाजाका पसलहरु खुलोस् जसले पर्यटकका लागी पनि सहज र स्थानिय व्यापारीहरु पनि लाभान्वित होउन् । त्यसपछि कालापत्रे मोटरबाटो वा सफा सिंढीहरु हुँदै गोरखा दरबारको यात्रा, त्यहाँपनि गाइडहरु होउन् । गोरखा दरबारको अवलोकन पछि उपल्लोकोटको अवलोकन गर्ने व्यवस्था होस् जहाँ केही बिश्रामस्थलहरु, साना साना खाजापसल होस् । अझै यसलाई त सूर्योदय हेर्ने गन्तब्यका रुपमापनि व्यापक प्रचारप्रसार गर्न सकिन्छ । केही समय अघि यसका लागि केही प्रयासहरु भए पनि हाल आएर अवलोकन गर्ने पर्यटकहरु शुन्य प्रायः छ ।

अहिले न्याय दिने राजा रामशाहको शालिक राखिएको स्थान वा रामशाहको चौतारोलाई अझै व्यवस्थित गरी सुरक्षा प्रदान गरेरै भएपनि अहिले घेरेर राखेको उक्त शालिकको घेरा हटाई आकर्षक बनाउन सक्नुपर्दछ । यसलाई छोटकरीमा भन्नुपर्दा गोरखा सदरमुकामभित्रै कम्तिमा १ दिन रम्न सक्ने अवस्था सृजना गर्नको लागी के गर्नुपर्छ भनेर कार्ययोजना बनाई कार्य अघि बढाउन सके पर्यटकहरु रातारात गरी फर्कनुपर्ने अवस्थाको अन्त्य होस् । बर्षौं अगाडिदेखि कुरामा मात्र सीमित रक गार्डेनको निर्माणको कुरालाई कार्यान्वयन गरियोस् । गोरखा चिनाउने पुस्तकहरु नेपालैभरी उपलब्ध हुने तवरले प्रकाशन गरी वितरण गर्न सकियोस् । गोरखा घुम्न आउने पर्यटकहरुले गोरखाको चिनारीको रुपमा लाने बिषेश सामग्रीहरुको निर्माण गरेर स्थानिय व्यवसायको प्रबद्र्धन गर्नुपर्ने जरुरी देखिन्छ । साथै गोरखा संग्राहलयमा भएका बाहेक भिक्टोरिया क्रस तक्मा पाउने वीरहरुको शालिक निर्माण लगायत सम्भव भए उनिहरुले प्राप्त गरेको तक्मा र प्रमाणपत्रहरुको संरक्षण गरी त्यसको प्रदर्शन गर्न सक्ने व्यवस्था मिलाउन पनि सकिन्थ्यो कि ?

यो कल्पनामा भएभन्दा बढी गर्ने हो भने पश्चिमकाली मन्दिर सम्मलाई समेट्न सकिन्छ । त्यहाँबाट यात्रा शुरु गरी पस्लाङ्ग चौतारा, चिल्डूेन पार्क, सतिपिपल, तल्लोकोट, बिसे नगर्चीको गाउँ, रामशाहको चौतारो हुँदै गोरखा दरबार पुग्ने बरु ठाउँठाउँमा गोरखा झल्कने पूर्वाधारहरु निर्माण गर्न सकिन्छ । गोरखा दरबारबाट उपल्लोकोट हुँदै त्यसको धारधारै घुम्दै र फोटो खिच्दै भ्यू टावर चढी गोरखा बजारको अवलोकन गर्ने र त्यसपछि संग्रहालय घुमी रानीपोखरी (पुष्कर तीर्थ) को अवलोकन गरी फर्कने । गोरखा घुम्न आउने पर्यटकलाई राती अल्मल्याउने कुनै उपाय रच्ने हो भने पर्यटकहरु एकरात त गोरखा बस्छन् नि । इतिहासै इतिहासले भरिएको गोरखामा विभिन्न जातजातिका विभिन्न संस्कृतिहरु पनि भेट्न सकिन्छ । ती बिभिन्न संस्कृतिको बिषयमा गोरखा सदरमुकामको कुनै स्थानमा साँझको समयमा देखाउन सके पनि पर्यटकहरु अहिले झैं रातारात फर्किदैनन् कि ? यी आदि बिषयहरुमा सरोकारवालाको बेलैमा ध्यान जान सके गोरखाको पर्यटन प्रबद्र्धनमा अझै केही आशा अवश्य पनि थपिनेछ ।
हामी अहिले नेपाल भ्रमण बर्ष २०२० को नजिकै छौं । चारबर्ष वितिसक्दा पनि २०७२ सालको भूकम्पले भत्किएको गोरखा दरबारको निर्माण हुन सकेको छैन । गोरखा दरबारको निर्माणमा ढिलाइ हुनुले पनि अहिले गोरखा सदरमुकाममा आउने पर्यटकहरुले घुम्ने स्थानको अभाव झन् खड्किएको छ । यस्तै अभावलाई कम गर्नको लागि भीमसेन थापा, लखन थापा, लिगलिगकोट, मनकामना मन्दिर, बारपाक, दरौंदी, बूढीगण्डकी, लार्केपास, विभिन्न हिमश्रृंखलाहरुको दृश्यावलोकन, दूधपोखरी, अन्य तालहरुको पनि विस्तारै विकास गर्दै भौतिक पूर्वाधारयुक्त बनाउन सकिन्छ र पो भन्न मज्जा आउँछ “इतिहासको खुल्ला किताब, गोरखै रमाइलो । मादल बज्ने, हिमाल हाँस्ने, गोरखै रमाइलो” । साभार ः स्मारिका, गोरखा च्याम्बर अफ कमर्श

प्रतिक्रिया दिनुहोस्