| बुधबार, कार्तिक २७, २०७६

बलीराजाले कसलाई पठाएका थिए देउसी खेल्न ?

सुदर्शन अर्याल
आहै भन भन भाइ हो ‘‘‘
देउसी रे ।
आहै राम्ररी भन ‘‘‘‘‘‘.
देउसी रे ।
आहै स्वर मिलाइकन ‘‘‘‘
देउसी रे ।
आहै देउसी रे भन ‘‘‘‘‘‘‘
देउसी रे ।
आहै हामी त्यसै ‘‘‘‘‘‘..
देउसी रे ।
आहै आएका होइनौं ‘‘‘‘‘..
देउसी रे ।
‘बली राजाले पठाएको ‘..’
देउसी रे ।
जब(जब ‘देउसी रे’ भाका गुञ्जन थाल्छ, हाम्रो मन रोमाञ्चकताले भरिन्छ । हाम्रा पाइलाहरु उमंगले नाच्न थाल्छ । हामी यसै यसै उद्वेलित हुनपुग्छौं ।
देउसी भट्याउँदा किन हामी उमंगित हुन्छौं ? किन हामीमा स्फूर्ति जाग्छ ?
किनभने देउसी हाम्रो उत्सवको गीत हो । उल्लासको गीत हो । उत्साहको गीत हो । यसमा हाम्रो आफ्नोपनको मिठास छ ।
सदियौंदेखि नेपाली समाजलाई उत्सवमय बनाइरहेको छ, देउसीले ।
देउसी तिहारमा प्रतिपदाको दिनदेखि केही दिनसम्म खेलिन्छ । यो लोक संगीतलाई कसले सुरु गरे ? यसमा भन्ने बलीराजा को हुन् ? उनले पठाएको भनेर आउने देउसीहरु त्यतिबेला को थिए ? उनले कसलाई भिक्षा माग्न पठाएका थिए ?
कसरी सुरु भयो देउसीको प्रचलन ?
देउसी भैलोको प्रचलन नेपालको मध्यकालदेखि सुरु भएको अनुमान गरिएको छ । यसमा आधिकारिक प्रमाण केही नभएको भएपनि किंवदन्तीहरुले जुम्लाका राजा बलीसँग यो संस्कृतिलाई जोड्ने गरेका छन् ।
जुम्लामा खस राज्यको पतन भएपछि एक जना बली नाम गरेका व्यक्ति जन्मिएका थिए । उनकी आमा उत्तर भारतको काश्मीरबाट गर्भिणी अवस्थामा नेपाल प्रवेश गरेकी थिइन् । नेपाल आएर जुम्लाको कल्लै भन्ने ठाउँमा एक थापा क्षत्रीको घरमा उनी बास बसेकी थिइन् ।
तीर्थ जान हिँडेकी उनी त्यही घरमा बास बसिन् । संकृतिविद् डा. जगमान गुरुङ ती महिला आफ्नै परिवारका सदस्यको गर्भ बोकेर आएको हुनसक्ने अनुमान गर्छन् । उनको तर्क छ ‘यदि त्यस्तो कुनै भइपरी नआएको भए गर्भिणी अवस्थामा घर छाडेर एक्लै तीर्थ जानको लागि कुनैपनि महिला हिँड्दैनन् । त्यसैले उनी आफ्नै पिता वा दाजुभाइको गर्भ बोकेपछि तिरस्कृत भएर घर छाडेको हुनसक्ने उनको अनुमान छ ।संस्कृतमा यो घटनालाई जनाउनको लागि ‘सपाद लक्ष्य खसदेश’ भनिएको छ । यसको अर्थ हो ‘सय घर भएको खसदेश’ । त्यसैका राजा थिए बली । तिनै थापा क्षत्रीको घरमा जन्मिएको शिशु हुर्कदै एवं बढ्दै गयो ।
एकदिन काश्मीरबाट आएका विद्वान तीर्थयात्री चन्दननाथले बलीलाई राजा हुन योग्य देखेर राजाविहीन त्यो गाउँको राजा घोषित गरे भन्ने किंवदन्ती पाइन्छ । उनी कल्लै गाउँमा जन्मिएकोले उनले आफ्नो वंशलाई पनि कल्याल वंशको नामबाट सुरु गरेका थिए ।
कसलाई पठाएका थिए बलीराजाले देउसी खेल्न ?
त्यतिबेला पनि पश्चिम नेपालमा दास(दासी प्रथा चलिरहेको थियो । त्यो केही समय अघिसम्म थियो भने अहिले पनि लुकिछिपी यो प्रथा पश्चिम नेपालमा सञ्चालनमा छ । यो प्रथा अनुसार आफ्नै छोरा छोरी वा कुनै गरिबको छोरा(छोरी किनेर मन्दिरमा बलि दिने गरिन्थ्यो । तर, पछि मन्दिरमा लगेर त्यसै छाड्ने संस्कृतिमा विकास हुँदै गयो ।
लक्ष्मी पूजाको दिन तिनै बली राजाले देवदास र देवदासीको बृत्तिका लागि भिक्षा माग्न घर घरमा जाने अनुमती दिए । उनीहरुलाई लक्ष्मीपूजाको दिनदेखि माग्न पाउने अधिकार दिएको र देउसीलाई अपमान नगर्न र सकेको भिक्षा दिन पनि उनले सबैलाई उर्दी जारी गरेका थिए ।
त्यतिबेला नै औशींको दिन भैली खेल्ने गरिएको थियो । भैलीको अर्थ तपाईको भलो होस् भन्ने हुन्छ । विशेषगरी भैली देवदासीहरुले औंशीको दिन मात्रै खेल्ने पर्व हो । देउसी कात्तिक शुक्ल प्रतिपदाको दिनदेखि खेलिन्छ ।
तिनै बलीराजाले पठाएका देवदासहरुले आफू आएको जानकारी दिनको लागि ‘देवदासी रे’ भन्न थाले । त्यसैको अपभ्रंश रुप देउसी रे हुन थालेको हो भन्ने मान्यतालाई संस्कृतिविद् डा. गुरुङले स्वीकारेका छन् ।
पौराणिक कथन
एउटा पौराणिक बली छन्, जो दानवहरुका राजा थिए । उनलाई भगवान विष्णुले देवताहरुलाई धेरै दुःख दिएको भनेर पाताल धसाएका थिए । पाताल धसाएपछि उनले भगवान विष्णुलाई आफू कहिले मत्र्यलोक आउन पाउँछु ? भनेर सोधे ।
मत्र्य लोकमा राज गरेका उनी सधैं पातालमा बस्न नसक्ने भनेपछि विष्णुले यम पञ्चकको पाँच दिन उनी मत्र्यलोक आउन पाउने अनुमती दिएको कुरा पौराणिक ग्रन्थहरुमा देख्न पाइन्छ ।
दानवराज बली सम्पत्तिमा एकदमै धनी थिए ।
त्यस्ता बलीले मत्र्यलोक आउन पाउने भएपछि देवता गणले पनि आफ्नो इज्जत जोगाउनकै लागि पनि बली आउने ५ दिन मत्र्यलोक झकिझकाउ बनाउन थाले । बलीले छाडेपनि मत्र्यलोक गरिब छैन भन्ने देखाउनको लागि सबैतिर उज्यालो बत्ती र झिलीमिली बनाएको पौराणिक भनाई छ ।
अर्काेतर्फ हामीकहाँ देउसीहरुलाई पठाउने बली भने ती पौराणिक कथाका बली होइनन् । हाम्रा धेरै चार्डपर्वहरु मध्यकालीन नेपालका विभिन्न घटनाहरुसँग जोडिएको पाईन्छ ।
साभार ः अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्