| मङ्लबार, कार्तिक २६, २०७६

editorial

चितुवा आतंक रोक्न पहल गरौं

गोरखामा पछिल्लो समय चितुवाले पशु चौपायालाई आक्रमण गर्ने क्रम बढेको छ । साउनयताको ३ महिनामा मात्रै ३३ किसानका ४५ चौपाया चितुवाले मारेको भन्दै राहतको माग गरिएको छ । वन्यजन्तुले पशुधन नोक्सानी गरेमा राहत पाइन्छ भन्ने थाहा नपाएर निवेदन गर्न नआएकाहरुको संख्या समेत जोड्ने हो भने चितुवा लगायतका वन्यजन्तुको आक्रमण डरलाग्दो बन्दै गएको स्पष्ट हुन्छ ।

वन संरक्षणमा उल्लेख्य सफलता हासिल भएपछि वन्यजन्तुको संख्या बढ्यो, जसका कारण उनीहरुलाई आहाराको अभाव भएपछि वस्तीतिर पस्न थालेका संरक्षणकर्मीहरु बताउँछन् । वन्यजन्तु प्रकृतिका साथी हुन् तर उसले आफैंलाई हानी नोक्सानी पु¥याउन थालेपछि मानिसले उसलाई साथी होइन शत्रु ठान्न थाल्छन् । सरकारले वन्यजन्तुले घरपालुवा पशु चौपाया मारेमा राहत रकम उपलब्ध गराउने ब्यवस्था त गरेको छ तर क्षति भैसकेपछि राहतका लागि दौडधूप गर्नुभन्दा क्षति हुनै नदिनेतर्फ सावधानी अपनाउनु बढी ब्यवहारिक हुने देखिन्छ ।

विज्ञहरु भन्छन्, चितुवा आफैंमा हिंस्रक हुँदैन । चितुवा मानव वस्तीमा छिर्ने पनि शिकार खोज्नका लागि होइन । त्यसैले गाऊँ टोलमा चितुवा प्रवेश गरेको छ भने भीड जम्मा हुने, होहल्ला गर्ने जस्ता काम नगर्न उनीहरुको सुझाव छ । उसले असुरक्षा महशुस गरेपछि भनेमात्र आक्रमण गर्ने जानकारहरुको भनाई छ । यी लगायत चितुवा सहितका वन्यजन्तुको आक्रमणबाट जोगिने उपायबारे जनस्तरसम्म चेतना फैलाउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्