| शुक्रबार, अशोज ३, २०७६

editorial

खै गोरखामा पर्यटन बर्षको तयारी ?

नेपाल सरकारले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने निर्णय गरेको छ । त्यही निर्णयलाई सघाउने गरी गण्डकी प्रदेशले सन् २०१९÷२०२२ लाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाउने निर्णय गरेको छ ।

सन् २०१९ समाप्त हुन तीन महिना बाँकी छ, तर पर्यटन सम्बन्धी केही पनि क्रियाकलाप भएन । पर्यटन बर्ष २०२० सुरु भएपछि के गर्ने भन्ने बारे छलफल गर्न गोरखा जिल्लामा कुनै एकाइ नै गठन भएको छैन ।

आन्तरिक पर्यटन बर्ष मनाउन प्रदेश स्तरमा एउटा समिति गठन भएको छ । समितिले जिल्लाहरुमा र स्थानीय तहमा उपसमिति बनाउने तयारी गरेको छ, तर कहिले बन्छ ? कुनै तयारी छैन ।

तीन महिनापछि जिल्लामा पर्यटन बर्ष कसरी मनाउने भन्ने बारे कुनै छलफल, बहस भएको छैन । अहिले त यतिसम्म कि, गोरखामा पर्यटन सम्बन्धी काम गर्ने कुनै संस्था नै क्रियाशील छैन ।

यसअघि केही पर्यटन सम्बन्धी संघसंस्थाहरु थिए, तर अहिले ती संस्था पनि निश्कृय छन् । न सरकारी तहको कुनै एकाइ छ, न निजी स्तरको कुनै फोरम नै छ ।

यसअघि जिविसमा पर्यटन विकास समिति हुने गथ्यो । गोरखा पर्यटन नामको पुरानो र नयाँ दुईवटा गैरसरकारी स्तरमा संस्था थियो । ती पनि अहिले सक्रिय छैनन् । गतिविधिसुन्यप्राय छन् । न स्थानीय सरकारले पर्यटन सम्बन्धी कार्यक्रम गरेको छ, न जिल्ला समन्वय समितिले गरेको छ । पर्यटन सम्बन्धी काम गर्ने जिल्लातहका विज्ञ वा चासो राख्नेहरुले पनि अहिले यस बिषयमा चर्चा गरेको पाइएको छैन । यस्तो अबस्थामा कसरी सम्भव होला, पर्यटन बर्ष २०२० ?

प्रतिक्रिया दिनुहोस्