| बिहिबार, साउन २, २०७६

होलीमा कसरी जीवनलाई सप्तरंगी बनाउने ?

होली मनाउने मुडमा हुनुहुन्छ ? निश्चय पनि बर्ष्दिनमा एकपटक रंगहरुको उत्सव मनाउने मौका उम्कन दिने पक्षमा हुनुहुन्न । त्यसो हो भने, कसरी होली मनाउँदै हुनुहुन्छ त ?
तपाईं वेपर्वाहसँग भन्नुहोला, ‘विगतमा जसरी मनाइएको थियो, ठिक त्यसैगरी । अविर दल्ने, लोला छ्याप्ने । थोरबहुत नसालु पेय पिउने । विन्दास रंगहरुमा रमाउने ।’
अब तपाईंसँग अर्को प्रश्नको पनि जवाफ हुनुपर्छ । होली किन मनाउँदै हुनुहुन्छ ?
यसको रेडिमेड जवाफ यस्तो हुनसक्छ, ‘चाडपर्व, संस्कृति हो । त्यसैलाई निरन्तरता दिनका लागि ।’ अर्थात तपाईंले होली मनाउनुको ध्येय परम्पराको निरन्तता हो । कुनैपनि पर्व, उत्सव किन र कसरी मनाउने भन्ने कुरा तपाईंको नितान्त व्यक्तिगत रुचीको विषय हुन् । यसमा कुनै सर्तहरु लागु हुनेछैन । यद्यपी यी चाडपर्वको मर्म, महत्व र महिमालाई बुझ्नुभयो भने तपाईंले थप आनन्दाभूत गर्नुहुनेछ ।
यो पर्व किन मनाउने त ?
मूल प्रश्न यही हो । यससँगै होली कसरी मनाउने भन्ने उत्सुकता पनि जाग्नसक्छ । होलीको परम्परा र संस्कृतिबारे धेरै पटक चर्चा गरिसकेका छौं । यसको आफ्नै धार्मिक, सामाजिक, सांस्कृतिक महत्व एवं मूल्य छन् ।
यद्यपी यसपटक भने हामी होलीलाई वर्तमान युग अनुसार र वर्तमान जीवनशैली अनुसार कसरी मनाउने भन्नेमा केन्द्रित रहेर चर्चा गरौं ।
किन मनाउने ?
होली खासमा सप्तरंगी पर्व हो । यसको संकेत हो, जीवन पनि सप्तरंगी हुनुपर्छ । उत्साह र उमंगमय हुनुपर्छ । अहिले हामी धपेडीमा छौं ।
हामी विहान उठेदेखि जिन्दगीको रेसमा यसरी दौडिरहेका छौ कि, आफैलाई बिर्सिएर वेग मार्दैछौ । करियर, पैसा, परिवार, प्रतिष्ठा, वैंक व्यालेन्स, ऐश(आरमको चक्करमा हामीले आफ्नो जीवन(अस्तित्व मेटाउँदै गएका छौं । जीवन के हो ? कसरी जिउने ? यी हाम्रा प्राथमिकताबाट हट्दैछन् । यसको साइड इफेक्ट के भने, हामी तनावग्रस्त हुँदैछौं ।
हामी दिमागमा प्रतिस्पर्धा, धपेडी, तनाव, इष्र्या बोकेर वेग हानिरहेका छौं । यहि कारण त हामीलाई विहान खानेबेला, राती सुत्नेबेला औषधीको डोज लिनुपर्छ । वर्तमानमा हामी आफैलाई भुलेर जीवनबाट विमुख हुँदैछौं । यही कारण हाम्रो जीवन निरास एवं उदास हुँदैछ । फिका र श्यामश्वेत हुँदैछ ।
यस्तो अवस्थामा जीवनलाई कसरी रंगीन बनाउने, कसरी रसपूर्ण बनाउने, कसरी रोमान्टिक बनाउने, कसरी रहरलाग्दो बनाउने ? यसको जवाफ हाम्रा चाडपर्व एवं उत्सवहरुसँग छ ।
वास्तवमा चाडपर्वको ध्येय भनेको समाजमा सद्भाव कायम राख्न, मानिसलाई उमंगित बनाउनकै लागि हो । यी चाडपर्वले हामीलाई उदासीबाट मुक्ति दिलाउँछ । एक्लोपनबाट मुक्ति दिलाउँछ ।
होली त्यस्तै पर्व हो, जसले हामीलाई उमंगमय जीवनमा फर्काउँछ । होली रंगहरुको पर्व हो । यस अवसरमा एकअर्कालाई रंग एवं अबिर दलेर यो पर्व मनाइन्छ । यसले के संकेत गर्छ भने, जीवन पनि यी रंगहरु जस्तै रंगीन हुनुपर्छ ।
कुनैपनि चाडपर्वले निश्चित मौसम, हावापानी, भूगोललाई इंगित गर्छ । रंगहरुको यो पर्व त्यहीबेला आउँछ, जतिबेला प्रकृतिमा हरियाली छाउन थाल्छ । यसअघि जाडो याम हुन्छ । प्रकृति पनि रुखो एवं सुख्खा हुन्छ । रुख(बुट्यानको पात झरेर उजाड हुन्छ ।
वायुमण्डलमा चिसो र सुख्खा हावा चलिरहेको हुन्छ । यो मौसमी अवस्थासँग हाम्रो शरीर र मनको खास कनेक्सन हुन्छ । त्यही कारण त जाडो याममा धेरैजसो चिन्ता एवं डिप्रेसनको रोगी बढ्ने चिकित्सकहरुको भनाई छ ।
प्रकृतिको यो स्वरुप फेरिदै गर्दा होली पर्व आउँछ ।
अर्थात जाडो सकिएर गर्मी बढ्न थालेपछि । आकास खुल्छ । यतिबेला विस्तारै प्रकृतिमा हरियाली छाउन थाल्छ । वायुमण्डलमा सितल हावा वहन थाल्छ । रुख(बुट्यानले पालुवा फेर्न थाल्छ । रंग बिरंगी फूलहरु हावामा तैरिन थाल्छन् ।
यस्तो मोहक मौसममा मन पनि यसै फुरुंग हुन्छ ।अतः प्रकृतिको यो सप्तरंगी पृष्टभूमीमा हामी किन रंगीन नहुने ? हामी किन उमंगित नहुने ? भनिन्छ नि, हामीले सधै प्रकृतिसँग लय मिलाउनुपर्छ ।
प्रकृतिसँगै नाच्नुपर्छ र प्रकृतिकै धुन अलाप्नुपर्छ ।
जब हामी प्रकृतिसँग एकाकार हुन्छौं, जीवनको धुन फेला पार्छौं । जीवनको माधुर्य प्रतिध्वनीत भएको अनुभूत गर्छौं । होलीमा रंगहरुको पर्व मनाउनुको ध्येय हो, जीवनलाई सप्तरंगी बनाउनुपर्छ ।
कसरी मनाउने ?
अँ तपाईं होली कसरी मनाउने तयारीमा हुनुहुन्छ ?
संभवत रंग एवं अबिर ल्याउनुहुन्छ । पानी, पिचकरी र लोलाको व्यवस्था गर्नुहुन्छ । पानी छ्याप्नुहुन्छ । रंग दल्नुहुन्छ । लोला हान्नुहुन्छ ।
अझ तपाईं किशोरवय वा युवाअवस्थामा हुनुहुन्छ भने तपाईंले अनेक किसिमको रसायनले आफुलाई रंगाउनुहुनेछ ।
बेपरवाह बाटोमा हिँड्नेलाई वा आफुले देखे जतिलाई लोला हान्नुहुनेछ ।
मौका परे पानीले निथु्रक्क भिजाइदिनुहुनेछ ।शरीरभर रंग दलेर, कपाल र अनुहारलाई बहुरंगी बनाएर सडकमा जत्था बनाएर हिँड्नुहुनेछ ।
वाइकमा विन्दास हुँइकनुहुनेछ । वा छतमा बसेर लुकीलुकी बटुवालाई पानी छ्याप्नुहुनेछ ।अब सोच्नुहोस् त, के तपाईंले होली खेल्नुभयो ? कि अरुलाई सताएर त्यसबाट भद्दा मनोरञ्जन लिनुभयो ? होलीको मर्म, महिमा, महत्व र मूल्य एकातिर छ ।
तर, हामी होलीलाई भद्दा मजाक बनाइरहेका छौं । अतः होलीबाट हामीले असली उमंग लिन जानेकै छैनौ । त्यसो भए कसरी खेल्ने त होली ?हरेक चाड पर्व आपसी सद्भाव, सौहार्द्धता फैलाउने एवं कायम राख्ने मेलो पनि हो ।
हामीले यस्ता चाडपर्व मनाइरहँदा आफुले मात्र आनन्द लिएर हुँदैन, अरुलाई आनन्दित तुल्याउनु पनि पर्छ । यसर्थ रंगहरुको उत्सव मनाइरहँदा अरुलाई दुःख, कष्ट दिने होइन, आपसी खुसी साट्ने हो ।
होलीको तयारी
होलीको पूर्व तयारी गर्न सकिन्छ । यसका लागि आफन्त, साथीभाई, चिनेजानेका, सहकर्मी आदिलाई आमन्त्रण गर्न सकिन्छ । होली पर्व मनाउनका लागि कुनै निश्चित ठाउँ तोक्न सकिन्छ । जस्तो घरको छत, आँगन वा खुला ठाउँ । जहाँ आफुलाई अनुकुल, सुरक्षित र सहज हुन्छ ।
होली खेल्नुपूर्व कस्तो रंग प्रयोग गर्ने ? कस्तो पहिरन लगाउने ? सुरक्षाको के कस्ता विधी अपनाउने ? कहाँ खेल्ने ? कोसँग खेल्ने ? कसरी खेल्ने ? मोटामोटी खाका तयार गर्न सकिन्छ । अक्सर आफ्नै घरपरिवार, नातेदार, साथीभाईवीच अबिर दलेर होली खेल्ने गरिन्छ । होली खेल्दा पुराना एवं उज्यालो रंगको पहिरन लगाउने गरिन्छ । कपाल, अनुहारको छाला आदिमा रंगको असर हुनसक्ने भएकाले हेयर आयल, जेल, क्रिम आदि प्रयोग गरिन्छ ।
खासगरी होलीका लागि अबिर प्रयोग गर्नु राम्रो मानिन्छ । अझ संभव भएसम्म त प्राकृतिक रंग, जस्तो कि, फूल, पात आदिको रंग, चन्दन आदिको रंग बनाएर होली खेल्ने गरिन्छ । यस किसिमको रंग छालामैत्री हुन्छ । होली खेल्दा मिठोमसिनो खानेकुरा, संगीत आदिको पनि व्यवस्था गरिन्छ । साथै होली खेलिसकेपछि सरसफाईका लागि पानीको व्यवस्था गर्नुपर्छ ।
रंगहरुको पर्व मनाउने आ(आफ्नै तौर तरिका, शैली हुनसक्छ । यद्यपी यसले कसैलाई हानी गर्नु, दुःख दिनु भनेको यस पर्वको वास्तविक मर्मलाई नबुझ्नु हो ।
सत्यको जीतमा उल्लास
होली एक पौराणिक पात्रको विजयी उत्सव हो, हामीले कण्ठ गरेको कुरा । हिरण्यकश्यपुले आफ्ना छोरो प्रल्हादलाई मार्नका लागि अग्निकुण्डमा हालेर जलाउन चाहन्छन् । यसका लागि उनले आफ्नी बहिनी होलिकाको काखमा प्रल्हादलाई राखिन्छ र अग्निकुण्डमा राखिन्छ ।
होलिका आगोले जलेर भष्म हुन्छन, प्रल्हादलाई केही हुँदैन ।खासमा प्रल्हादले विष्णु भगवानको आरधाना गरेको उनको पिता हिरण्यकश्यपुलाई मन पर्दैन । त्यही कारण उनले छोरोलाई जलाएर नष्ट गर्ने योजना बनाएका हुन्छन् । तर, उनी अधर्म र असत्य पराजित हुन्छ । यसरी असत्यमाथि सत्यको जीत भएको खुसीमा पनि यो पर्व मनाउने गरिन्छ ।

Loading...
प्रतिक्रिया दिनुहोस्