| शनिबार, बैशाख ८, २०८१

चल्छ त पालुङ्टार एयरपोर्ट ?

केही दिनयता पालुङटार एयरपोर्ट चल्ने चर्चा चलिरहेको छ । यसबर्ष सो एयरपोर्टका लागि ८८ लाख रुपैयाँ बिनियोन भएको छ ।
धावनमार्ग, ट्याक्सी–वे, पेरिफेरि रोड निर्माणका लागि नेपाल सरकारले बजेट बिनियोजन गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी नायब निर्देशक त्रिलोचन पौड्यालका अनुसार ढल निकास, एक्सेस रोड निर्माण र एप्रोनका लागि बहुबर्षे आयोजना अन्तर्गत बजेट बिनियोजन भएको हो ।

४० बर्षदेखि बन्द रहेको एयरपोर्टको पूर्वाधार मर्मतसम्भारका लागि बजेट बिनियोजन गर्नुले स्थानीयबासीमा आशा पलाएको छ । देशभर बिभिन्न ठाउँमा एयरपोर्ट सञ्चालन गर्दै जाने सरकारको योजना रहेकाले यो एयरपोर्ट पनि चल्छ कि भन्ने आशाको सञ्चार भएको छ । यसैबीच एयरपोर्टको ललीपप देखाएर नेताहरुले जनतालाई पछि लगाइ रहने रणनीति पो गरेका हुन् कि भन्ने आशंका पनि छ । किनभने आर्थिकबर्ष २०७१÷०७२ मा पनि सो एयरपोर्टका लागि साँढे दुईलाख रुपैयाँ बिनियोजन भएको थियो, तर केही पनि काम हुन नसकेपछि रकम फिर्ता भएको थियो । यसबर्षको बजेट पनि फिर्ता हुने पो हो कि ? शंका किन नगर्ने ?

जुनसुकै कुरा नराम्रो नहुञ्जेल राम्रै सोच्नुपर्छ । सकारात्मक सोँचको विकास गर्नुपर्छ । आशा गरौं, पालुङ्टार एयरपोर्ट सुचारु होओस् । गोरखा, तनहूँ लम्जुङ, मनाङका बासिन्दाले जहाजबाट यात्रा गर्न पाउन् ।

प्रतिक्रिया दिनुहोस्