| शनिबार, बैशाख ८, २०८१

सर्वसाधारण नागरिक नेताप्रति सन्तुष्ट छैनन्

राजनीतिकर्मीको निष्ठा डग्मगाएका कारण अहिलेका नेपाली जनतालाई राजनीतिप्रति त्यति मोह छैन । अग्रज राजनीतिकर्मीको ब्यबहारले गर्दा सर्वसाधारण जनता राजनीतिकर्मीप्रति आशावादी पनि छैनन् ।

अहिलेका राजनीतिक नेतृत्वले देशलाई संवृद्धितर्फ लैजालान् भन्ने विश्वास पनि सर्वसाधारणलाई छैन । सर्वसाधारणलाई मात्र होइन, आफ्नै सहहर्मीले गरेको कामप्रति राजनीतिक नेता नै सन्तुष्ट छैनन् । केही दिनअघि काठमाडौं बस्ने गोरखाका पत्रकारहरुले गोरखा घर भएका बिभिन्न नेताहरुलाई आमन्त्रण गरी शुभकामना आदानप्रदान कार्यक्रम गरे । त्यहाँ नेता स्वयंले आ(आफ्नै पार्टीका नेताले विकास निर्माणलाई गति दिन नसकेको प्रति उदासिना पोखे ।

पूर्व प्रधानमन्त्री समेत रहेको गोरखाका जनप्रतिनिधि बाबुराम भट्टराईले बूढीगण्डकी आयोजनामा भएको अलमल, रणनीतिक महत्वका सडकहरु अलपत्र भएकोप्रति असन्तुष्टि ब्यक्त गरे । अर्का निर्वाचित जनप्रतिनिधि हरिराज अधिकारीको अभिव्यक्तिले पनि ठूला विकास निर्माणमा हुन नसकेको प्रगतिप्रति सन्तुष्ट हुन नसकेको देखिन्थ्यो ।

अहिलेका सर्वसाधारण नागरिकले हाम्रा राजनीतिक नेताहरुमा देश विकास गर्न सक्ने क्षमता देखेनन् । नेताहरुले पनि राजनेता बन्नेतर्फभन्दा, सर्वमान्य हुनेतर्फभन्दा मौका पाएका बेला चौका हान्ने दाउ मात्र प्रदर्शन गर्न थाले । देश विकासभन्दा लठैतहरु परिचालन गर्ने, चाकडी, चाप्लुसी गर्ने, खाने, खुवाउनेमा तल्लीन हुन थाले । व्यक्तित्व विकास, चरित्र निर्माण र क्षमता वृद्धि भन्दा गणेश प्रवृत्तिभन्दा फरक काम गर्न सकेनन् । त्यसैले सर्वसाधारण जनता नेपालका राजनीतिक दलका नेताहरुप्रति सन्तुष्ट छैनन् ।

प्रतिक्रिया दिनुहोस्